काठमाडौँ — अमेरिकाबाट निष्कासित (डिपोर्ट) हुने नेपालीमध्ये सबैभन्दा बढी दाङ र रुकुमका भएको पाइएको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता त्यहाँबाट ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका १ सय ६३ नेपालीमध्ये तीन जिल्ला दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका सबैभन्दा बढी छन् । ‘डिपोर्ट’ हुनेको संख्या पनि पश्चिम नेपालकै बढी छ ।
अध्यागमन र प्रहरीबाट प्राप्त विवरणमा ‘डिपोर्ट’ भएर आएका दाङका ५१ जना, पश्चिम रुकुमका ३० जना र पूर्वी रुकुमका १३ जना छन् । यसैगरी सल्यानका ९, म्याग्दीका ७, पर्वत, बाँके र रोल्पाका ६/६ जना, बागलुङका ५ र सिन्धुपाल्चोकका ४ जना पनि ‘डिपोर्ट’ मा परेका छन् ।
यसैगरी काठमाडौं, जाजरकोट र दोलखाका ३/३ जना, कास्की र कैलालीका २/२ जना तथा कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका १/१ जनालाई पनि अमेरिकाले ‘डिपोर्ट’ गरेको हो ।
‘डिपोर्ट’ भएका अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो) बाट अमेरिका प्रवेश गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरूका अनुसार ‘डिपोर्ट’ हुने अधिकांश नेपालसहित विभिन्न देशमा सक्रिय गिरोहमार्फत तल्लो रुटबाट अमेरिका पुगेको पाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरी २०२५ बाट दोस्रो कार्यकाल सुरु गरेलगत्तै नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएपछि हालसम्म १ सय ४६ पुरुष र १७ महिला अमेरिकाबाट निष्कासित भएका हुन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानबाट दुई पटकमा ४५ जना र बाँकीलाई नियमित उडानबाट ‘डिपोर्ट’ गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको जिम्मा लगाएको थियो । २१ फागुन २०८१ मा सात पुरुष र एक महिला गरी ८ जनालाई अमेरिकाले चार्टर्ड विमानबाट ‘डिपोर्ट’ गरेर नेपाल ल्याएको थियो । त्यसको तीन महिनापछि गत जेठ २४ मा पुनः ३२ पुरुष र ५ महिलालाई चार्टर्ड विमानबाटै नेपाल ल्याएर छाडिएको थियो ।
पछिल्लो पटक ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स चार्टर्ड विमानमा ४६ जना फिर्ता हुने भनेर अमेरिकी अधिकारीले नेपाली अधिकारीलाई जानकारी गराएका थिए । तर, विमानमा भने ३७ जना मात्रै आएका थिए । ‘डिपोर्ट’ को सूचीमा रहेका अरू क्रमशः आउने क्रममा रहेको बताइएको छ । निष्कासनका लागि नियन्त्रणमा लिइएकालाई ‘नियमित उडानबाट’ नेपाल फिर्ता गर्ने विकल्प दिइएकामा त्यसलाई सहजै स्वीकार गर्नेहरू नियमित उडानबाटै आउने गरेका तर यसलाई अटेर गर्नेहरू र अमेरिकामा ‘गम्भीर अपराधको कसुर’ लागेकालाई ‘अपराधको पृष्ठभूमि’ हेरेर चार्टर्ड विमान नै प्रयोग गर्ने गरेको देखिएको एक प्रहरी अधिकृतको भनाइ छ ।
तल्लो बाटोबाट अमेरिका पठाउने गिरोहको जालो पत्ता लगाउन प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले फिर्ता भएर आएकाहरूलाई अध्यागमनबाट झिकाएर सोधपुछ गर्ने गरेको छ । सोधपुछपछि ‘कागज गराएर छाडिएका’ ले आफूहरू रकम बुझाएर अमेरिका गएको स्वीकार गर्ने गरेका छन् । तर, गिरोहबारे खुल्न मानेका छैनन् । ‘तैपनि संगठित गिरोहलाई मोटो रकम बुझाएर तल्लो बाटो अमेरिका पुगेका र पछिल्लो समय ‘डिपोर्ट’ मा परेर फिर्ता भएकाको फ्लो, उनीहरूको स्थायी ठेगाना, कुन–कुन जिल्लाका ? कस्तो आर्थिक अवस्था भएका ? र, कुन उमेर समूहका मानिसलाई प्रयोग गर्ने गरेका छन् भन्ने एउटा तस्बिरचाहिँ स्पष्ट हुन्छ,’ एक प्रहरी अधिकृतले भने, ‘डिपोर्ट भएर आएकाहरू आफूहरू रकम बुझाएर अमेरिका गएको कुरामा खुल्छन् तर पठाउने गिरोहको नेटवर्कबारे पटक्कै बोल्न चाहेका छैनन् ।’