काठमाडौँ — आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस ।
नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।
सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तरराष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ । दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तरराष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।
पर्यटनमन्त्री पाण्डेले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको बताए। उनले जेठ १५ गते गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्नेगरी कार्यक्रम मिलाइएको जानकारी दिए। बिहान प्रभातफेरी गरिने तथा गणतन्त्र दिवस र दिउँसो बजेट वक्तव्य कार्यक्रम सकिएपछि ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिनेछ ।