प्राचीन तिलौराकोट विश्व सम्पदा सूचीमा पर्न नसक्नुको कारण

0 Shares

पर्याप्त’ पुरातात्त्विक तथ्यले पश्चिम नेपालस्थित वर्तमान तिलौराकोट नै प्राचीन शाक्य अधिराज्यको राजधानी कपिलवस्तु भएको र त्यहीँ गौतम बुद्धको बाल्य तथा युवाकाल गुज्रिएको पुष्टि गरेको भन्ने नेपालको दाबीलाई विश्व सम्पदा समितिको ४७औँ सत्रले तत्काल स्वीकार नगरेपश्चात् उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने धेरै वर्षदेखिको प्रयासमा झट्का लागेको जानकारहरूले बताएका छन्।

फ्रान्सको राजधानी प्यारिसस्थित संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन (यूनेस्को)को मुख्यालयमा गत साता आयोजित उक्त बैठकले नेपालले राखेको विस्तृत प्रस्तावलाई स्वीकार गरेन।

स्मारक तथा सम्पदा क्षेत्रहरूबारे युनेस्कोलाई परामर्श दिने इन्टर्न्याश्नल काउन्सिल अन मनुमेन्ट्स एन्ड साइट्स (आइकोमस)ले त्यसका निम्ति तीनवटा कारण दिएको बैठकमा सामेल अधिकारीहरूले जानकारी दिएका छन्।तर त्योभन्दा पनि मुख्य कारण चाहिँ आफ्नो दाबीप्रति समितिका सदस्य राष्ट्रहरूलाई मनाउन नेपालको कूटनीतिक प्रयास पर्याप्त हुन नसकेकोलाई कतिपय जानकारहरूले बताउने गरेका छन्।

‘तीन सुझाव’ र तिनका जबाफ

प्यारिस बैठकमा सामेल पुरातत्त्व विभागकी प्रमुख सौभाग्य प्रधानाङ्गले दिएको जानकारीअनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा पार्न दुई वर्षअगाडि नेपालले ‘नोमिनेशन डोसिअर’ भनिने औपचारिक मनोनयन दस्ताबेज पठाएको थियो।

“‘कपिलवस्तु-तिलौराकोट : सेटलमेन्ट अफ एन्सिअन्ट शाक्य किङ्डम’ भनेर हामीले पठाएका थियौँ। यूकेको डर्हम विश्वविद्यालयका विज्ञ अनि हाम्रा विज्ञहरूले १०-१२ वर्षदेखि गरिरहेका अनुसन्धानका आधारमा वैज्ञानिक कालक्रम परीक्षण गरिसकेपछि हामीले यो प्राचीन कपिलवस्तु नै हो भनेर पेस गरेका थियौँ,” उनले बीबीसीसँग भनिन्।

आइकोमसले चाहिँ नेपालको दस्ताबेजमा तीन वटा ‘सुझाव’ राखेको प्रधानाङ्गले बताइन्।

“पहिलो, उनीहरूले त्यहाँ हालै भेटिएको ‘अप्साइडल’ भनिने अर्धवृत्ताकार मन्दिरको अवशेष उल्लेख गर्न भने। तर हामीले दस्ताबेज पठाइसकेपछि मात्र त्यो मन्दिर उत्खनन गर्दा भेटिएको थियो।”

“त्यो मन्दिर सारनाथको जस्तो भनिएको छ। तर भर्खरै भेटिएकाले थप काम गर्न बाँकी नै रहेको छ।”

दोस्रो सुझावका रूपमा आइकोमसले लुम्बिनीको सिमाना हेरफेर गरेर लुम्बिनी र कपिलवस्तुलाई एउटै प्रस्तावमा राखेर पेस गर्न भनेको उनले बताइन्।

“तर हामीले यी दुई छुट्टाछुट्टै स्थल भएकाले छुट्टै हुनुपर्छ भन्यौँ।”

तेस्रो सुझावमा उसले शाक्य अधिराज्यका शासनको कालक्रमबारे थप स्पष्ट पार्न भनेको प्रधानाङ्गले बताइन्।

“त्यसबारे हामीले कालक्रमअनुसारको सम्बन्धहरूबारे बतायौँ,” प्रधानाङ्गले भनिन्।

“तर त्यसपछि विश्व सम्पदा समितिका २१ सदस्य राष्ट्रमध्ये कसैले पनि हाम्रो दस्ताबेज छलफलमा ल्याइदिन प्रस्ताव नगर्दा यो वर्षको बैठकमा यो विषय रोकियो,” उनले भनिन्।

नेपाली अधिकारीहरू आफूले कमसेकम एउटा सदस्य राष्ट्रले प्रस्ताव गरिदिएला अनि छलफल अघि बढ्ला भन्ने आश राखेको बताउँछन्।

“प्रस्ताव आएको खण्डमा हाम्रो पक्षमा बोलिदिन्छौँ भनेर थुप्रैले भनेका थिए तर प्रस्ताव कसैले पनि राखिदिएन,” उनले भनिन्।

यसका कारणबारे नेपाली अधिकारीहरूले मुख नखोले पनि कूटनीतिक कौशल नपुगेको रूपमा जानकारहरूले अर्थ्याएका छन्।

“तर हामीले के सन्तोष मान्न सक्छौँ भने कपिलवस्तुको विषय नेपाल(को प्रस्ताव)बाट हटाउन हामीले मानेनौँ। सूचीमा राखे पनि, नराखे पनि कपिलवस्तु हाम्रै हो भन्ने दर्ज भएको छ। हामी अर्को वर्ष पनि यो (प्रस्ताव) निरन्तर गर्छौँ,” उनले भनिन्।

सम्बन्धित समाचारसबै