ट्रम्पले सोधे— जेलेन्स्की, हतियार पायौ भने तिमीले मस्कोमा हान्न सक्छौ?

0 Shares
काठमाडौँ –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरूद्ध लड्न युक्रेनलाई लामो दूरीका शक्तिशाली हतियार दिने तयारी गरेका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति यसअघि नरम देखिएका ट्रम्पले शान्तिका लागि तयार नदेखिएपछि रूसविरूद्ध कडा नीति अवलम्बन गर्ने तयारी गरेका हुन्।

आफू राष्ट्रपति भएको भए रूस-युक्रेन युद्ध नै नहुने दाबी गर्दै आएका ट्रम्पले गत जनवरीमा राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै युद्धविरामको पहल लिँदै आएका छन्।

युद्धविराम गराउन ट्रम्प सुरूवातमा क्रेमलिनप्रति नरम र किभप्रति आक्रामक देखिएका थिए। तर जति नै नरम भए पनि रूसले विभिन्न बहानामा युद्धविराम प्रस्ताव नमानेपछि ट्रम्पले युक्रेनलाई रूसमाथि हमला गर्न लामो दूरीका हतियार दिने बताएका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसको राजधानीलाई नै लक्ष्य गरेर आक्रमण गर्न सक्छौं कि सक्दैनौं भनेर प्रश्न समेत गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

‘भोलोदिमिर! हतियार पायौ भने तिमी मस्कोमा हान्न सक्छौं? सेन्ट पिटर्सबर्गमा पनि हान्न सक्छौं?,’ ट्रम्पले जेलेन्स्कीलाई सोधेका थिए।

जबाफमा जेलेन्स्कीले अमेरिकाले हतियार दिए मस्को र पिटर्सबर्गमा प्रहार गर्न सकिन्छ भनेर जबाफ दिएको फाइनान्सियल टाइम्सको समाचारमा उल्लेख छ।

‘अवश्य। यदी तपाईं हतियार दिनुहुन्छ भने हामी सक्छौं,’ जेलेन्स्कीले ट्रम्पलाई जबाफमा भनेका थिए।

ट्रम्प र जेलेन्स्कीबीचको संवादबारे जानकार राख्ने अमेरिकी अधिकारीहरूले रूसलाई आक्रमणको माध्यमबाट अत्यन्त पीडा दिएर क्रेमलिनलाई वार्ताको टेबलमा आउन बाध्य पार्ने रणनीति ट्रम्पले लिन लागेका हुन्।

त्यसकारण नै ट्रम्पले जेलेन्स्कीलाई त्यसमा प्रोत्साहन गरिरहेका छन्। ट्रम्प र जेलेन्स्कीबीचको उक्त कुराकानी जुलाई ४ मै भएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

तर वाशिंटनले यस्ता हतियार युक्रेनलाई दिने निश्चित भइसकेको छैन।

यद्यपि युद्धविरामका लागि आफ्नो प्रस्तावमा युक्रेन तयार भए पनि क्रेमलिन सहमत नभएपछि ट्रम्प पुटिनसँग अत्यन्त रिसाएका छन्। पुटिनसँग आजित भएका ट्रम्पले रिसको झोंकमा युक्रेनलाई लामो दूरीका हतियार दिएर आक्रमण गर्न लगाउन सक्छन् भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

ट्रम्पले युद्धविराममा सहमत हुनका लागि पुटिनलाई ५० दिनको समय दिएका थिए।

सम्बन्धित समाचारसबै