काठमाडौँ – गत साता बाढीले बगाएको रसुवा जिल्लास्थित मितेरी पुल भएको स्थान नजिकै बेलिब्रिज निर्माण गरेर चीनसँगको आवागमन सहज बनाई त्यसपछि कङ्क्रिटको पुल बनाउनुपर्ने पक्षमा नेपाल सरकार रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले बीबीसीलाई बताएका छन्।
नेपाल-चीन सीमामा अवस्थित ल्हेन्देखोलामा अकस्मात् आएको बाढीले पुल बगाउँदा रसुवागढी-केरुङ जोड्ने प्रमुख व्यापारिक नाका बन्द भएको छ।
स्याफ्रुबेँसी-रसुवागढी खण्डका विभिन्न ठाउँका सडक बाढीले बगाएकोमा आगामी पाँच दिनभित्र ‘साना सवारीसाधन गुड्ने गरी’ अस्थायी रूपमा त्यसलाई सञ्चालनमा ल्याउने गरी आफूहरूले काम गरिरहेको सडक विभागका महानिर्देशकले बताएका छन्।
नेपाल–चीनबीचका ७० प्रतिशत व्यापारिक गतिविधि रसुवागढी नाकाबाट हुने गरेका छन्।अधिकारीहरूले बाढीले भन्सार हातामा निर्माण सम्पन्न हुन लागेको सुक्खा बन्दरगाहमा समेत ठूलो क्षति भएको र त्यसको अभावमा आफूहरूको कार्यसम्पादन प्रभावित हुने बताइरहेका छन्।