उपेन्द्र यादवको सचिवालय भन्छ : बालुवाटारमा ‘बा’ को राज रहुन्जेल मन्त्री अधिकारीले राजीनामा दिनु पर्दैन

0 Shares

काठमाडौँ — जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अडियो प्रकरणबारे मौन रहेको आरोप लगाएको छ । सामाजिक सञ्जालमार्फत यादवको सचिवालयले बालुवाटारमा ओली रहुन्जेल अधिकारीले राजीनामा दिनुनपर्ने भन्दै कटाक्ष गरेको छ ।

सचिवालयले लेखेको छ, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ ।’

मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ ।बुधबार सार्वजनिक भएको उक्त अडियोमा एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घूस रकम लिएको दाबी गरिएको छ । अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको भनिएको छ । यादवको सचिवालयले यसै विषयमा कटाक्ष गरेको हो ।’सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे,’ सचिवालयले भनेको छ । गुप्ताकै अडियो प्रकरणमा भूमिमन्त्री अधिकारी पनि मुछिएकै हुन् ।

सम्बन्धित समाचारसबै