लिस्बन रेल दुर्घटनामा १५ जनाको मृत्यु, १८ घाइते

0 Shares

१९ भदौ, काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बुधबार बेलुकी भएको भीषण रेल दुर्घटनामा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

दुर्घटना लिस्बनको पर्यटकमाझ लोकप्रिय *ग्लोरिया फ्युनिकुलर रेल*मा भएको हो । ढलानवाला सडकमा आवागमन गर्ने रेलको सपोर्टिङ केबल भाँचिँदा रेल लिकबाट उछिट्टिएर नजिकैको भवनमा ठोक्किएको थियो ।

फोटो र भिडियोमा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त देखिएको छ । आपतकालीन सेवाका सदस्यहरूले दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरेका थिए । घाइते र मृतकको पहिचान अझै खुलिसकेको छैन, तर विदेशी नागरिक पनि परेको अनुमान गरिएको छ ।

घटनाप्रति पोर्चुगलका राष्ट्रपति रेबेलो डी सुजाले दु:ख व्यक्त गर्दै दुर्घटनाको कारणबारे गहन छानबिन गर्न निर्देशन दिएका छन् । त्यस्तै, लिस्बनका मेयर कार्लोस मोयदासले उक्त दिनलाई शहरका लागि “अत्यन्तै दु:खद दिन” भनेका छन् ।

यो दुर्घटनाले ऐतिहासिक तथा पर्यटकीय नगरी लिस्बनलाई शोकमा डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचारसबै