तुइनखोलामा ४ वटा मेसिनले सफा गर्दैछ पहिरो, बाटोमै भान्सा

0 Shares

काठमाडौँ — नारायणगढ-मुग्लिन सडकको तुइनखोलामा मंगलबार गएको ठूलो पहिरो हटाउन बुधबारदेखि चारवटा मेसन प्रयोग भइरहेका छन् । थप एउटा मेसिन दमौलीबाट मगाएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले बताए ।

नारायणगढतर्फ एउटा लोडर र एउटा एक्स्काभेटरले पहिरो पन्छ्याइरहेको छ । त्यसैगरी मुग्लिनतर्फ दुइवटा ल‍ोडरले काम गरिरहेका छन् । दमौलीबाट थप एक्स्काभेटर आउँदै गरेको आचार्यको भनाइ छ । स‍ो एक्स्काभेटरले मुग्लिनतर्फबाट काम गर्ने छ ।
सडकमा करिब १४ हजार घन मिटर माट‍ो, साना ठूला ढुंगा, गिट्टी र गेग्रान थुप्रिएको छ । ‘यो माट‍ो ढुंगाले दुईवटा फूटवल मैदान भरी पौने दुई मिटर अग्लो ढिस्को बनाउन सकिन्छ,’ इन्जिनियर आचार्यले प्रस्ट्याए । मंगलबार दिउँसो पाँच बजेतिर पहिरो खसेको थियो । सडक भोलि मात्रै खुल्ने डिभिजन सडक कार्यालयले जनाएको छ । सडकमा आँपटारी, रामनगर, जुगेडी र पहिरो नजिक मालवाहक ट्रक र फाट्टफुट्ट बसहरू पनि छन् । यात्रुहरू विभिन्न विकल्प अपनाएर गन्तव्यतर्फ लागिसकेका छन् ।

सडकमा फसेका ट्रकचालक सहचालकहरूले मेसिन चलाउन पर्याप्त अपरेटरहरू नभएको र खाने कुरा महँगोमा बिक्री हुने गरेको बताए । केही चालकहरू मिलेर सडकमै खाना खाएका पनि छन् ।

सम्बन्धित समाचारसबै